
नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ सार्वजनिक
१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘नेपाल पे कार्ड’को औपचारिक उद्घाटन गरेका छन् । सोमबार ( १८ चैत) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ल्याएको ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) को गभर्नरले सार्वजनिक गरेका हुन् ।
‘नेपालको आफ्नै कार्ड’ भन्ने नारासाथ एनसीएचएलले नेपाल पे कार्ड सुरु गरेको हो । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबाट नेपाल पे कार्ड जारी हुने कम्पनीले जनाएको छ ।
यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ । यो डोमेस्टिक कार्ड स्किम अन्तर्गत डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल जस्ता विभिन्न प्रकारका कार्ड क्रमिक रूपमा उपलब्ध हुने जनाइएको छ । यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको यस अन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनेछ ।
भविष्यमा यस कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न मिल्ने गरी काम भइरहेको एनसीएचएलले जनाएको छ । कार्यक्रममा हिमालयन बैंकले गभर्नर अधिकारीलाई पहिलो नेपाल पे कार्ड जारी गरेको थियो भने माछापुच्छ्रे बैंकमा पहिलो पीओएस कारोबार भएको थियो ।
उक्त कार्यक्रममा गभर्नर अधिकारीले नेपाल पे कार्डले आर्थिक स्वायत्ततामा महत्त्वपूर्ण योगदान गर्ने बताए । ‘भिसा र मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय प्रदायक मार्फत भुक्तानी गर्दा अतिरिक्त लागत लाग्थ्यो, तर अब नेपालमै कार्ड सञ्चालन हुँदा खर्च बचत हुनेछ,’ उनले भने ।
नेपालको आफ्नै भुक्तानी प्रणाली विकास गर्ने राष्ट्र बैंकको रणनीति अनुसार यो परियोजना कार्यान्वयनमा ल्याइएको हो ।विभिन्न चरणको छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एचसीएचललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो ।यसअन्तर्गत आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको र अब बैंक तथा वित्तीय संस्थाहरूको स्विच इन्टिग्रेट गर्ने कार्य अघि बढ्ने जनाइएको छ ।