काठमाण्डौं, २९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले माओवादीले ‘प्रचण्ड पथ’ त्याग्नु गल्ती भएको बताएका छन् । बुधबार पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्ड पथ त्याग्दा सबैजना ‘तितरबितर’ भएको बताए ।
यसअघि पनि मन्त्री शर्माले प्रचण्ड पथ त्याग्नु आफूहरूको गल्ती भएको बताउँदै आएका छन् । प्रचण्ड पथले माओवादीलाई एक ढिक्का बनाएर राखेको उनले बताउँदै आएका छन् ।
यस्तै अर्को कार्यक्रममा मन्त्री शर्माले समुदायमा आधारित उत्पादन शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को स्थानीय तह विभागका सदस्यहरूलाई शपथग्रहण गराउने क्रममा उनले समाजवादको आधार तयार गर्न समुदायमा आधारित उत्पादन शक्तिको निर्माण गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले सो शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए । व्यक्तिगत प्रतिस्पर्धालाई समेत कायम राखेर सामुदायिक स्रोत साधनलाई परिचालन गरी समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ ।
‘समुदायमा आधारित उत्पादन शक्ति केन्द्रको विकास गर्नुपर्छ’, उनले भने, ‘उत्पादनका साधनहरू त्यसको स्वामित्वमा हुनुपर्छ र समुदायलाई आवश्यक पर्ने साधनहरू त्यसले दिन सक्नुपर्छ ।’
सो केन्द्रले व्यक्तिगत तथा सामुदायिक रूपमा उत्पादन भएका वस्तुको केन्द्रीकरण गरी बजारीकरण गर्नमा मद्दत गर्नुपर्ने उनले बताए । केन्द्रले स्थानीय सरकारलाई आवश्यक परेका बेला घचघच्याउने र चुनौती दिन सक्ने हुनुपर्ने बताए ।
खासगरी यसले स्थानीय सरकारलाई विकास र उत्पादनमा पुरकका रूपमा सहयोग गर्नुपर्ने उनको धारणा रहेको छ । यस सामुदायिक कार्यले समाजवादको ‘भ्रूण’को विकास हुने उनको भनाइ रहेको छ ।