फाइल तस्बिर।
झापा, २० मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आक्रमक भाषणले राजनीतिमा तरंग ल्याएको छ । उनले उक्त भाषणमा ओलीलाई ‘एक नम्बरको गफाडी’को संज्ञा दिएका छन्।
दमकमा खेलकुद महासंघ समाजवादी प्रदेश १ स्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीलाई त्यस्तो संज्ञा दिएका हुन्।
नेपालले भने, ‘गफ गरेर र भ्यू टावर ठड्याएर मात्र काम हुँदैन। देशलाई आवश्यक नै नभएको कुरा ध्यान दिने र गफ मात्र दिने ओली एक नम्बरका गफाडी हुन्।’
ओलीले उठाउँदै आएका पानी जहाज सञ्चालनको कुराको नेपालमा कुनै आवश्यकता नभएको उनले बताए। नेपालले भने, ‘नेपालको पानी जहाजको आवश्यकता नै छैन।’
उनले एकीकृत समाजवादी पार्टीको मात्र नेपालमा भविष्य रहेको दाबी गरे। नेकपा एमाले अबको संसदीय निर्वाचनमा ‘पत्ता साफ’ हुने उनको दाबी थियो।
नेपालले शक्ति बढाउन अन्य पार्टीहरूसंग तालमेल आवश्यक रहेको बताए। आउँदै गरेको राष्ट्रिय सभाको निर्वाचन अन्य दलसंग गठबन्धन हुने नेपालको भनाइ थियो। उनले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसंग तालमेलको संकेत दिए।