राष्ट्र पुनर्निर्माणको प्रतिबद्धतासहित नेपाल मातृभूमि पार्टीद्वारा चुनावी घोषणा–पत्र सार्वजनिक
काठमाडौं । नेपाल मातृभूमि पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । राजधानीस्थित सामाजिक विकास समाजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओम प्रकाश बिश्वकर्माले राष्ट्र, नागरिक र भावी पुस्ताको भविष्यसँग जोडिएको व्यापक दृष्टिकोण प्रस्तुत गर्दै “पूर्ण नागरिकतान्त्रिक राज्यव्यवस्था” स्थापनाको प्रतिबद्धता जनाएका हुन् ।
अध्यक्ष बिश्वकर्माले आफ्नो सम्बोधनमा नेपालको गौरवशाली इतिहास, पितापुर्खाको बलिदान र राष्ट्रिय एकताको सूत्रलाई स्मरण गर्दै देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमिकता, भौगोलिक अखण्डता र बहुजातीय–बहुभाषिक सामाजिक सद्भावलाई पार्टीको मूल आधारशिला भएको बताए । उनले विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्दै यही एकतालाई संगठित शक्ति बनाएर “मानव जीवन केन्द्रित राज्यसत्ता” स्थापना गर्ने लक्ष्य लिइएको स्पष्ट पारे ।
उनका अनुसार पार्टीले विगत २०६८ सालदेखि देशका सबै जिल्ला, झण्डै ३००० गाविस तथा नगर क्षेत्रहरूमा स्थलगत अध्ययन गरेको छ । साथै विकसित मुलुकहरूको अभ्यास अध्ययन गरी नेपालको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक तथा पूर्वाधार विकासको समग्र खाका तयार गरिएको दाबी गरिएको छ । पार्टीले मानव जीवनको गर्भाधानदेखि जीवनको अन्त्यसम्म राज्य अभिभावकत्वको जिम्मेवारी लिने संवेदनशील संरचना निर्माण गर्ने नीति अघि सारेको छ ।

घोषणापत्रमा उल्लेख भएअनुसार पार्टीले देशको प्राकृतिक स्रोत, साधन, पर्यटन, कृषि, जलविद्युत्, उद्योग र सेवा क्षेत्रको वैज्ञानिक उपयोगमार्फत राष्ट्रिय पूँजी निर्माण गर्ने योजना अघि बढाएको छ । श्रम, नगद र प्रविधिको संयोजनबाट झण्डै २४८ खर्ब रुपैयाँ बराबरको विकास बजेट परिचालन गर्ने तथा २१ लाखभन्दा बढी नयाँ व्यावसायिक कम्पनी स्थापना गरी करिब ५ करोड २५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिएको छ ।
पार्टीले दलाल पूँजीवादको अन्त्य गर्ने, व्यावसायिक करबाहेक व्यक्तिगत कर खारेज गर्ने, सार्वजनिक साधनमा भन्सार हटाउने, शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै ६५ वर्ष उमेर पुगेपछि सबै नागरिकलाई कर फिर्तासहित सम्पूर्ण सेवा–सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।
अध्यक्ष बिश्वकर्माले विगतका शासक र नेतृत्वमाथि मातृभूमिप्रति गद्दारी गरेको आरोप लगाउँदै इतिहासले निर्मम मूल्याङ्कन गर्ने चेतावनी दिए । उनले वैदेशिक हस्तक्षेप, नवसामन्तवाद, अवसरवाद र भ्रष्ट प्रवृत्तिलाई समूल अन्त्य गर्दै पूर्ण सत्य र पूर्ण न्यायमा आधारित समतामूलक, लोककल्याणकारी र वैज्ञानिक राज्यव्यवस्था स्थापना गर्ने दाबी गरे ।
कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आम देशप्रेमी नागरिक, युवा, महिला तथा विभिन्न समुदायलाई आह्वान गरे । पार्टीले यस निर्वाचनलाई “राष्ट्र पुनर्निर्माणको ऐतिहासिक अवसर” का रूपमा व्याख्या गर्दै देशभर सशक्त चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

