सहिदहरूको बलिदानले नेपाली चेतनामा क्रान्तिको आगो बाल्यो
डा. डिआर उपाध्याय, काठमाडौ । देशमा अन्याय, अत्याचार र निरङ्कुशताको एकलौटी वर्चस्व राणाशासनले जमाइरहेका बेला जनताको पक्षमा बोल्ने, प्रश्न गर्ने र अधिकार माग्ने आवाज लगभग दबिएको अवस्था थियो । तर इतिहास सधैं मौन रहँदैन । यही मौनतालाई चिर्दै चार वीर नेपाली सपुतहरूले देश र जनताको हितका लागि नेपाल प्रजा परिषद् स्थापना गरी जनतालाई सचेत बनाउने र क्रान्तिको चेतना जगाउने काम थाले ।
राणाशासनलाई यो जागरण स्वीकार्य भएन । जनतालाई सधैं रैतीकै रूपमा राख्ने मनसायले योजनाबद्ध दमन सुरु गरियो । वि.सं. १९९७ साल माघ १० गते टेकुस्थित खरीको रुखमा झुण्ड्याएर शुक्रराज शास्त्रीको हत्या गरियो । त्यसको तीन दिनपछि माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुण्ड्याइयो । त्यसैगरी माघ १५ गते दशरथचन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरियो । लगातार छ दिनसम्म भएका यी क्रूर घटनाले देशलाई स्तब्ध बनायो तर त्यसैसँगै क्रान्तिको विगुल पनि अझ बलियो गरी फुकियो ।
यी बलिदानले नेपाली जनताको मन छिया–छिया बनायो । आफ्ना चेतनशील, साहसी र परिवर्तनका प्रतीक सपुतहरू सधैंका लागि गुमाउनु पर्दाको पीडा केवल आँसुमा सीमित रहेन, त्यो विद्रोह र परिवर्तनको ऊर्जा बन्यो । नेपाली समाजले त्यही पीडाबाट अन्यायविरुद्ध उठ्ने साहस सिक्यो ।

नेपालको इतिहासमा पहिलो सहिदका रूपमा लखन थापालाई मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचारप्रसार गरेको अभियोगमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा उनलाई झुण्ड्याएर मारिएको थियो । उनी तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । लखन थापाको बलिदानले नै सहिदको अवधारणा नेपाली चेतनामा रोपिएको मानिन्छ ।
यिनै महान् सहिदहरूको सम्झनामा आज सहिद दिवस मनाइँदैछ । सहिद दिवस केवल औपचारिक श्रद्धाञ्जली होइन, अन्यायविरुद्ध आवाज उठाउने साहस, अधिकारका लागि संघर्ष गर्ने संकल्प र लोकतान्त्रिक चेतनालाई निरन्तर जीवित राख्ने प्रतिज्ञा पनि हो ।
सहिदहरू इतिहासका पात्र मात्र होइनन्, उनीहरू आजका पुस्ताका लागि चेतनाका दीप हुन् । उनीहरूको बलिदानले हामीलाई अन्यायसँग सम्झौता नगर्न सिकाउँछ ।
सहिदहरूको त्याग र बलिदानकै कारण आज नेपाली समाज स्वतन्त्रता, अधिकार र परिवर्तनको बाटोमा उभिएको छ । सहिद दिवसले हरेक वर्ष यही सन्देश दिन्छ बलिदान बिर्सिए लोकतन्त्र कमजोर हुन्छ, सम्झिए परिवर्तन सम्भव हुन्छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

