सबै दलको साझा एजेन्डा आर्थिक विकास बनोस्ः अध्यक्ष ढकाल
काठमाडौं । मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेन्डा बन्नुपर्ने धारणा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राखेका छन् । बिहीबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन । सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्र विकासको एजेन्डालाई प्राथमिकता दिन र सबैको साझा एजेन्डा बनाउन उनलेआग्रह गरे ।
उनले भने, राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसद् निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेन्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।
साथै, अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेन्डाहरू समावेश गर्न पनि आग्रह गरे ।
उनले औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेन्डाहरू राज्यसमक्ष राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेन्डाले प्राथमिकता पाउनुपर्ने तर्क गरे ।
उनले जुनसुकै सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको उल्लेख गर्दै यसका लागि सबै दललाई एउटै मञ्चमा राखेर महासंघले बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरिएको प्रसंग स्मरण गरे । उनले उक्त आयोगका कतिपय सुझावहरू हाल कार्यान्वयनमा आइसकेको पनि बताए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.