राजेन्द्र महतो, अशोक राइ र रेशम चौधरीको पार्टीले गठबन्धन गरी एउटै चुनाव चिन्ह लिएर लडने
१४ पुष,काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा सहभागी हुने भएका छन् ।
तीनै दलले नागरिक उन्मुक्ति पार्टीको जाँतो निर्वाचन चिह्नबाट चुनाव लड्ने निर्णय गर्दै निर्वाचन आयोगमा एउटै बन्दसूची पेश गरेका छन् । यस निर्णयसँगै तीन पार्टीबीच औपचारिक चुनावी गठबन्धन बनेको छ ।
यस अवसरमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन पार्टीबीचको गठबन्धन पहिल्यै टुंगिएको बताउनुभयो । उहाँले गठबन्धन कायम रहँदा पनि आवश्यकता अनुसार अन्य दलहरूसँग चुनावी तालमेल हुन सक्ने सम्भावना खुला रहेको उल्लेख गर्नुभयो ।
महतोले भन्नुभयो, तीन पार्टी मिलेर एकल चुनाव चिह्न लिएर निर्वाचनमा जाने निर्णय पहिल्यै भइसकेको हो । अहिले तीन पार्टीको गठबन्धन पूरा भएको छ, अब त्यसबाहेक अन्य दलसँग पनि चुनावी तालमेल हुन सक्छ ।
तीन पार्टीको साझा बन्दसूचीमा ११० जनाको नाम समावेश गरिएको जानकारी समेत महतोले दिनुभएको छ । एउटै चिह्न, एउटै सूची र साझा एजेन्डाका साथ निर्वाचनमा जाने निर्णयले मधेस तथा उत्पीडित समुदायको प्रतिनिधित्व अझ बलियो बनाउने तीन दलको दाबी छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
