
ह्याम्स अस्पतालको ‘स्वास्थ्य सबैको सरोकार’ संवाद श्रृंखला सम्पन्न
२९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वास्थ्य क्षेत्रमा रहेका कमिकमजोरी हटाउन सरकार ईमानदारीको साथ लागेको बताएका छन् । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालको वार्षिकोत्सवको अवसरमा आज शुक्रबार ‘बृहत सामाजिक हितको लागि ह्याम्सको पहल’ अन्तर्गतको ‘स्वास्थ्य सबैको सरोकार’ नीतिगत बहस श्रृंखलामा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले आगामी आर्थिक वर्षको बजेटको तयारी भईरहेको समयमा स्वास्थ्य क्षेत्रमा अपनाउन सकिने नीतिगत विषयमा यो बहसले मद्दत गर्ने बताए ।
ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले अस्पतालले वार्षिकोत्सवका अवसरमा ‘स्वास्थ्य सबैको सरोकार’ नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नीतिगह बहस सुरु गरेको जानकारी दिए। नागरिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबारे बृहत् छलफल गरी समाधानका उपाय र सुझाव निकाल्नु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।
गतवर्षबाट सुरु भएको संवाद श्रृंखलालाई ह्याम्सले हरेक वार्षिकोत्सवमा निरन्तरता दिने जनाएको छ। कार्यक्रमका विषयगत सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ तथा ‘नागरिकको स्वास्थ्यमा लगानी’ लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सांसदहरू लगायतको उपस्थिति रहेको थियो । तीन सत्रमा विभाजित सो कार्यक्रममा नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र नागरिकको स्वास्थ्यमा हुने लगानी सम्बन्धी विषयमा बृहत छलफल भएको हो।
ह्याम्स अस्पतालले विगत ७ वर्षदेखि धुम्वाराहीमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सेवा दिँदै आएको छ। अस्पतालले उच्चतम प्रविधि, अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ ।