
होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने
काठमाडौं २ चैत । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताए ।
काठमाडौं जिल्लामा मात्र एक हजार ७०० को संख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै ललितपुरमा ६०० भन्दा बढी र भक्तपुरमा ४०० भन्दा बढी प्रहरी परिचालन गरिने प्रवक्ता एसपी राठोरले बताए ।
उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ ।
प्रत्येक जिल्लाले आआफ्नो सुरक्षा योजनासमेत बनाएको उनको भनाइ छ । ‘प्रत्येक प्रहरी वृत्त, प्रभाग, प्रहरी चौकी, बिट लगायतमा समेत आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन्,’ एसपी राठोरले भने, ‘त्यसका लागि महानगरीय प्रहरी कार्यालयसँगै प्रत्येक परिसरबाट पनि आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।