
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
१३ चैत , काठमाडौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापालाई नियुक्त गरेको छ । मंगलबार ( १२ चैत ) को मन्त्रिस्तरीय निर्णयबाट थापा बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।
यसअघि बोर्डका सदस्य रहेका थापा अध्यक्ष थापा स्नातकोत्तर हुन् । यसभन्दा अगाडिका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा बोर्डलाई सोचेजस्तो हिसाबले अगाडि बढाउन नसकेको भन्दै गत २८ भदौमा राजीनामा दिएका थिए ।
नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ । बीमामा आधारित भएर सरकारले स्वास्थ्यमा सबैको पहुँच पुर्याएर नेपाललाई सशक्त बनाउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ । स्वास्थ्य बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ ।
बीमाको लागि प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।