सोफा हब नाम दुरुपयोग नगर्न सोफा हब काठमाडौको चेतावनी
२९ मंसिर, काठमाडौं । पछिल्ला दिनहरूमा केही व्यवसायीहरूले आफ्ना व्यवसायको नामको अघि वा पछि “Sofa Hub” शब्द प्रयोग गरी व्यापार–व्यवसाय सञ्चालन गरिरहेको पाइएको भन्दै ‘Sofa Hub Kathmandu’ ले गम्भीर आपत्ति जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक तारालाल धरेलले विज्ञप्ति जारी गर्दै यसरी नाम प्रयोग गर्दा आफ्नो आधिकारिक ब्रान्डमा नकारात्मक असर परिरहेको बताएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार “Sofa Hub” नाम प्रयोगका कारण उपभोक्ताहरू भ्रममा परेका छन्। केही ग्राहकहरूले ‘Sofa Hub’ को आधिकारिक शाखा ठानी अन्य व्यक्तिबाट सामान खरिद गर्ने र पछि समस्या आउँदा न त उचित सेवा पाउने, न फोन सम्पर्क हुने जस्ता गुनासाहरू कम्पनीसम्म आइपुगेको जनाइएको छ। यस्ता गतिविधिले ब्रान्डको विश्वसनीयता र प्रतिष्ठामा क्षति पुगेको धरेलको भनाइ छ।
यसअघि पटक–पटक “Sofa Hub” नाम प्रयोग नगर्न अनुरोध गरिए पनि केही व्यक्तिहरूले बेवास्ता गरेपछि दशैं अगावै ‘Sofa Hub’ नाम र लोगोको आधिकारिक ट्रेडमार्क दर्ता गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख छ। दशैंको समयमा कसैको व्यवसायमा प्रत्यक्ष असर नपरोस् भन्ने उद्देश्यले सो अवधिमा सामाजिक सञ्जालमा सञ्चालन भइरहेका पेजहरूमा कुनै पनि कपीराइट स्ट्राइक जारी नगरिएको जानकारी दिइएको छ।
तर अब आजको मितिबाट लागू हुने गरी “Sofa Hub” नाम जोडेर कुनै पनि किसिमको व्यवसाय, फेसबुक पेज, टिकटक अकाउन्ट, युट्युब च्यानल वा अन्य डिजिटल प्लेटफर्म सञ्चालन नगर्न औपचारिक सूचना जारी गरिएको छ। सबैलाई आफ्नै छुट्टै र मौलिक व्यवसायिक नाम प्रयोग गर्न अनुरोध गरिएको छ।
यदि यस सूचनापछि पनि “Sofa Hub” नाम प्रयोग भइरहेमा सम्बन्धित पेज, टिकटक अकाउन्ट वा अन्य डिजिटल प्लेटफर्महरूमा कपीराइट तथा ट्रेडमार्क उल्लङ्घनका आधारमा स्ट्राइक लाग्ने र ती अकाउन्टहरू स्थायी रूपमा बन्द हुन सक्ने चेतावनी दिइएको छ। भविष्यमा यस विषयमा उत्पन्न हुने कुनै पनि क्षति वा असुविधाको जिम्मेवारी कम्पनीले नलिने स्पष्ट गरिएको छ। उक्त सूचना सबै सम्बन्धित व्यक्ति तथा संस्थाहरूको जानकारीका लागि जारी गरिएको प्रबन्ध निर्देशक तारालाल धरेलले बताएका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
