
सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश
१७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।
आज सोनाम ल्होछारको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने उनको विश्वास छ ।
यस्तै, उपराष्ट्रपति यादवले पनि शुभकामना सन्देश जारी गर्दै नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।
“आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार ! हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !” प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।
सोनाम ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।