सामाजिक अभियान्ता हेम थापाले उठाए बालेन माथि प्रश्न
काठमाडौं । सामाजिक अभियन्ता हेम थापाले प्रहरीद्वारा चलाइएको गोली र त्यसबाट उत्पन्न घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारीबारे प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सम्म बहस पुर्याएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अहिले राजनीतिक र सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ ।
थापाले आफ्नो पोस्टमा राज्यको अभिभावकका रूपमा प्रधानमन्त्रीले प्रहरीको गोलीबाट भएको घटनाको जिम्मेवारी लिनैपर्ने तर्क अघि सारेका छन् । उनका अनुसार सुरक्षा निकाय सरकारकै नियन्त्रणमा रहने भएकाले त्यसबाट हुने हरेक गम्भीर घटनामा प्रधानमन्त्री नैतिक रूपमा उत्तरदायी हुन्छन् । “राज्य सञ्चालन गर्ने नेतृत्वले जिम्मेवारीबाट पन्छिन मिल्दैन,” उनको भनाइ छ ।
यही तर्कलाई अगाडि बढाउँदै थापाले अर्को संवेदनशील प्रश्न उठाएका छन् । उनले काठमाडौं महानगरका प्रमुख बालेन साहको चुनावी अभियानसँग सम्बन्धित एक पत्रकारको मृत्युको विषय उठाउँदै नैतिक जिम्मेवारीको मापदण्ड एउटै हुनुपर्ने कि नहुने भन्ने प्रश्न गरेका छन् । “यदि प्रधानमन्त्रीले राज्यको अभिभावकका रूपमा प्रहरीको गोलीको जिम्मा लिनुपर्छ भने, बालेनको चुनावी यात्रामा सँगै हिँडेको पत्रकारको मृत्युको जिम्मा अभिभावक र नैतिकताको हिसाबले बालेनले लिनुपर्दैन ?” भन्ने प्रश्न उनले सार्वजनिक रूपमा गरेका छन् ।
उनका अनुसार नेपाली राजनीतिमा शक्ति र पदअनुसार जिम्मेवारीको व्याख्या फरक–फरक गरिन्छ, जुन लोकतान्त्रिक मूल्यका लागि खतरनाक अभ्यास हो । “नैतिकता पदअनुसार बदलिने विषय होइन,” थापाले लेखेका छन् ।
यस विषयमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन् । केहीले थापाको तर्कलाई समर्थन गर्दै सबै सार्वजनिक पदमा बसेकाले बराबर रूपमा नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । अर्काे पक्षले भने प्रत्यक्ष जिम्मेवारी र परिस्थितिको मूल्यांकन फरक हुनुपर्ने तर्क अघि सारेका छन् ।
हेम थापाको यो अभिव्यक्तिले प्रहरी दमन, राजनीतिक नेतृत्वको उत्तरदायित्व, र सार्वजनिक व्यक्तित्वको नैतिक दायित्वबारे फेरि एकपटक गम्भीर बहस सुरु गराएको छ । राज्यको अभिभावक को हो, जिम्मेवारीको सीमा कहाँसम्म हो र नैतिकताको मापदण्ड सबैका लागि समान हुनुपर्छ कि हुँदैन भन्ने प्रश्न अहिले सार्वजनिक बहसको केन्द्रमा पुगेको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
