![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
सवारी दुर्घटनामा परी बासु आचार्यको निधन, शोकमा डुब्यो परिवार
काठमाण्डौं २४ माघ । अर्घाखाँचीको सन्धिखर्क वडा नम्बर १ हटारीनेटाका बासु आचार्यको बुटवलमा भएको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।
शनिबार राती ११ बजे बेलबासबाट बुटवल जाने क्रममा तिनाउ पुलमा विपरीत दिशाबाट आएको बा १९ च ९१५७ नम्बरको स्कारपियो लु २४ प २७५७ नम्बरको मोटर साइकललाई ठक्कर दिदाँ ३० वर्षीय आचार्यको ज्यान गएको हो ।
बासुका बुबा श्यामलाल आचार्यको अर्को दिन हर्नियाको अप्रेसन हुँदै थियो । शनिबार दिउँसोदेखि बुबाको स्वास्थ्यमा समस्या आएपछि बासु औषधि किन्न बुटबल जाँदै थिए । सोही क्रममा अर्घाखाँची क्याट्रीङ बेलबासका सञ्चालक ज्ञानु खनालले चलाएको गाडी गलत दिशाबाट आइ उनको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटना घटेपछि ठक्कर दिने गाडीले घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउनुको सट्टा नक्कली ड्राइभर खोज्न थाल्दा ठूलो मात्रमा रक्तस्राव भै आचार्यको मृत्यु भएको परिवारको भनाई छ ।
घटना घटेको एक घण्टासम्म पनि बासुलाई अस्पताल लगिएको थिएन । ढिलोगरी अस्पताल लैजाँदा उनको निधन भइसकेको पुष्टि अस्पतालले गरेको थियो । शनिबार राती घटना घटेपनि परिवारले भने अर्को दिनको बिहान ७ बजे मात्र परिवार, छिमेकीले थाहा पाएका थिए ।
आचार्य, अर्घा भगवती ट्रान्सपोर्ट बुटवलका सञ्चालक थिए । युवा व्यवसायी आचार्यका एक छोरा, एक छोरी, श्रीमती, वृद्ध बुवाआमा हुनुहुन्छ । बासुको निधनले आचार्य परिवार शोकमा डुबेको छ ।