
सर्वोच्च अदालतमा ब्याएको गोरुले ५ वटा बाच्छा पायोः ओली
कास्की २७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढङ्गबाट गोरु ब्याएको टिप्पणी गरेका छन । । आज शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरूपी बाच्छा पनि पाएको बताए । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताए ।
अध्यक्ष ओलीले भने, ‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले रु एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, पाँच वटा बाच्छा पायो । जुन गठबन्धन भनिन्छ नि ।’
अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरू दुई धारमा बाँडिएको बताए । उनले राजनीतिक शक्तिहरू एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागिपरेको बताए । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताए । उनले अहिले भइरहेका जालझेललाई आउँदो चुनावबाट ध्वस्त बनाइने पनि दाबी गरे ।