
सत्ता गठबन्धनमा भयो यस्तो सहमति
काठमाडौं २० साउन । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, भुसालले भने, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।
त्यस्तै, बैठकमा जसपाबाट फुटेका डा बाबुराम भट्टराई र बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराउने निर्णय भएको ती भुसालले जानकारी दिए। यो बैठकले सत्ता गठबन्धनमै तालमेल गर्ने र चुनावमा केन्द्रित हुने निर्णय गरेको छ। त्यसैगरी पाँच दलभित्रैका दुई दलहरुबीच मात्रै गठबन्धन गर्न सकिने गरी बैठकले सहमति जुटाएको सहभागी एक नेताले बताएका छन्।
‘पाँच दलभित्रै पनि उपगठबन्धन बनाउन पाइने सहमति भएको छ। सिट बाँडफाँटबारे छलफल थाल्न समिति बन्ने छ’, ती नेताले भने, ‘समितिमा प्रत्येक पार्टीबाट दुईदेखि तीनजना रहने छन्।’ उक्त समितिले दिएको प्रतिवेदनका आधारमा गठबन्धनले सिट बाँडफाँट गरेर चुनावी अभियानमा होमिने भएको छ।
०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे पनि गठबन्धनमा छलफल भएको छ ।
सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि आज कार्यदल बनाउने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ ।
गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ । त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले बताए ।
सीट बाँडफाँड र गठबन्धनको साझा धारणासँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।