
शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय रहेको बताएका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य , न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले यस प्रक्रियामा आफूलाई कुनै श्रेय नचाहिएको पनि उल्लेख गरे
प्रधानमन्त्रीले भने, ‘नेपालमा शान्ति प्रक्रिया हामी आफैँले सुरू गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने छोडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’ ओलीले अब नेपालमा शान्ति हुन्छ भनेर जनतालाई निश्चिन्त बनाउनुपर्नेमा जोड दिए ।
राजधानीमा बिहीवार आयोजित ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त उद्घाटन गरेका हुन् । सम्मेलनमा उनीहरू तीनैजनाले सम्बोधन गरेका छन् । कार्यक्रममा द्वन्द्वपीडितका प्रतिनिधि, संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि हाना सिंगरलगायत सहभागी छन् ।
यही चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबिच सहमति जुटेको थियो । सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।