
विश्वविद्यालय खुला, विद्यालय बन्द
काठमाडौं २७ पुस । मङ्गलबारदेखि लागू हुने गरी मुलुकभरका सम्पूर्ण विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमण दर रोक्न सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबारको निर्णयलाई कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको हो । केन्द्रले आधारभूत तथा माध्यमिक तह (कक्षा १२ सम्म)का पढाइ बन्द गर्न र विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूको जारी परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सिफारिस गरेको थियो । मन्त्रालयले यो अवधिलाई विद्यालय बन्द नभनेर बिदा दिने भनेको छ । यो बिदालाई वार्षिक बिदामा मिलान गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । गोरखापत्रमा खबर छ ।