
लोसपा प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश गर्दै
काठमाडौँ १ चैत । मधेश प्रदेशस्थित लोकतान्त्रिक समाजवादी पार्टीका सांसद प्रह्लाद गिरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। पर्साबाट निर्वाचित गिरीले एमाले प्रवेशका लागि सोमबार बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार साँझ छलफल गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी रोजेपछि गिरी पनि त्यतै लागेका थिए।
पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका गिरी लोसपाका केन्द्रीय सदस्य पनि हुन्। उनी आफ्नो निर्वाचन क्षेत्रका केही वडाअध्यक्षसहित एमालेमा प्रवेश गर्ने पक्का भए पनि मिति टुंगिसकेको छैन।
कार्यकाल बाँकी छँदै पार्टी फेर्दा प्रदेश सभा सदस्य पद जाने भएपछि गिरीले केही समय कुर्ने भएका छन्। तर बालकोटले उनलाई स्थानीय तह निर्वाचनअघि नै एमालेमा भित्र्याउने गरी तयारी गरिसकेको छ।
मधेश प्रदेशमा पछिल्लो समय जसपा र लोसपाका नेताहरू एमालेमा प्रवेश गरिरहेका छन्। गिरीले सोमबार बालकोट पुगेर पाँच भन्दा धेरै नेता कार्यकर्तासहित एमालेमा आउने ओलीलाई बताएका छन्।
लोसपामा मधेश प्रदेशका प्रभावशाली नेता मानिने उनले यसअघि पनि पटक पटक दल बदलिसकेका छन्।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले गिरी चाँडै एमालेमा प्रवेश गर्ने बताए। ुउहाँ एमालेमा आउने पक्का भइसकेको छ। त्यही अनुसार बालकोटमा अध्यक्ष कमरेडसँग कुरा भएको होु, उनले भने, ुतर मिति पक्का भइसकेको छैन। केही प्राविधिक पक्षका कारण मिति नटुंगिएको हो। तर उहाँले एमालेमा आउने निर्णय लिइसक्नु भएको छ।ु
पछिल्लो पटक पर्साको वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगी एमालेमा आइसकेका छन्। दासले पर्साबाटै जसपा र लोसपाका शीर्ष तहका नेताहरु एमालेमा आउने बताए पनि उनीहरुको नाम खुलाउन चाहेनन् । नेपालखबरबाट