
लोसपाले बनायो सात सदस्यीय वार्ता समिति
काठमाडौं पुस ६ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश र राजधानीको जनकपुर राख्ने विषयमा लोसपाले प्रदेश २ मा रहेका अन्य दलहरुसँग वार्ता गर्न समिति बनाएको हो ।
सो वार्ता समितिमा सदस्यहरु प्रमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् । पुस ८ गते सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामाकरण र राजधानीको विषयमा छलफल गर्नका प्रदेशसभामा प्रस्ताव लाने तयारी गरेको छ । जसपाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने प्रस्ताव तयार पारेको छ । आजै जसपाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल गरेको थियो ।