राष्ट्र पुनर्निर्माणको प्रतिबद्धतासहित नेपाल मातृभूमि पार्टीद्वारा चुनावी घोषणा–पत्र सार्वजनिक

0
2

काठमाडौं । नेपाल मातृभूमि पार्टीले  आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक  गरेको छ । राजधानीस्थित सामाजिक विकास समाजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओम प्रकाश बिश्वकर्माले राष्ट्र, नागरिक र भावी पुस्ताको भविष्यसँग जोडिएको व्यापक दृष्टिकोण प्रस्तुत गर्दै “पूर्ण नागरिकतान्त्रिक राज्यव्यवस्था” स्थापनाको प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष बिश्वकर्माले आफ्नो सम्बोधनमा नेपालको गौरवशाली इतिहास, पितापुर्खाको बलिदान र राष्ट्रिय एकताको सूत्रलाई स्मरण गर्दै देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमिकता, भौगोलिक अखण्डता र बहुजातीय–बहुभाषिक सामाजिक सद्भावलाई पार्टीको मूल आधारशिला भएको बताए । उनले विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्दै यही एकतालाई संगठित शक्ति बनाएर “मानव जीवन केन्द्रित राज्यसत्ता” स्थापना गर्ने लक्ष्य लिइएको स्पष्ट पारे ।

उनका अनुसार पार्टीले विगत २०६८ सालदेखि देशका सबै जिल्ला, झण्डै ३००० गाविस तथा नगर क्षेत्रहरूमा स्थलगत अध्ययन गरेको छ । साथै विकसित मुलुकहरूको अभ्यास अध्ययन गरी नेपालको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक तथा पूर्वाधार विकासको समग्र खाका तयार गरिएको दाबी गरिएको छ । पार्टीले मानव जीवनको गर्भाधानदेखि जीवनको अन्त्यसम्म राज्य अभिभावकत्वको जिम्मेवारी लिने संवेदनशील संरचना निर्माण गर्ने नीति अघि सारेको छ ।

घोषणापत्रमा उल्लेख भएअनुसार पार्टीले देशको प्राकृतिक स्रोत, साधन, पर्यटन, कृषि, जलविद्युत्, उद्योग र सेवा क्षेत्रको वैज्ञानिक उपयोगमार्फत राष्ट्रिय पूँजी निर्माण गर्ने योजना अघि बढाएको छ । श्रम, नगद र प्रविधिको संयोजनबाट झण्डै २४८ खर्ब रुपैयाँ बराबरको विकास बजेट परिचालन गर्ने तथा २१ लाखभन्दा बढी नयाँ व्यावसायिक कम्पनी स्थापना गरी करिब ५ करोड २५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिएको छ ।

पार्टीले  दलाल पूँजीवादको अन्त्य गर्ने, व्यावसायिक करबाहेक व्यक्तिगत कर खारेज गर्ने, सार्वजनिक साधनमा भन्सार हटाउने, शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै ६५ वर्ष उमेर पुगेपछि सबै नागरिकलाई कर फिर्तासहित सम्पूर्ण सेवा–सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

अध्यक्ष बिश्वकर्माले विगतका शासक र नेतृत्वमाथि मातृभूमिप्रति गद्दारी गरेको आरोप लगाउँदै इतिहासले निर्मम मूल्याङ्कन गर्ने चेतावनी दिए । उनले वैदेशिक हस्तक्षेप, नवसामन्तवाद, अवसरवाद र भ्रष्ट प्रवृत्तिलाई समूल अन्त्य गर्दै पूर्ण सत्य र पूर्ण न्यायमा आधारित समतामूलक, लोककल्याणकारी र वैज्ञानिक राज्यव्यवस्था स्थापना गर्ने दाबी गरे ।

कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आम देशप्रेमी नागरिक, युवा, महिला तथा विभिन्न समुदायलाई आह्वान गरे । पार्टीले यस निर्वाचनलाई “राष्ट्र पुनर्निर्माणको ऐतिहासिक अवसर” का रूपमा व्याख्या गर्दै देशभर सशक्त चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here