
रामकुमारी झाँक्री गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरे पछि गोकर्ण विष्टलाई छटपटी
गुल्मी ५ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेकी छन् ।
आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् ।
‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्’, उनले भनिन् ।झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् ।
एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् । गुल्मी २ का बहालवाला सांसद गोकर्ण विष्ट नेकपा एमालेका सचिव हुन् । पछिल्लो चार वटा चुनाव लडेका विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक निर्वाचित भएका थिए । उनी यो पटक पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ ।