राप्रपा रुपन्देही–१ का उम्मेदवार बोहराद्वारा स्व. घर्तीका छोराको अभिभावकत्व ग्रहण
भैरहवा । राप्रपाका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्ज्वल बोहराले रोहिणी–३ निवासी स्वर्गीय पुरनबहादुर घर्तीका छोरालाई आफ्नो अभिभावकत्वमा पढाउने प्रतिबद्धता जनाएका छन्।
४५ वर्षको उमेरमा घर्तीको गएराति असामयिक निधन भएपछि उनका छोरा मनिष घर्तीको शिक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले उम्मेदवार बोहराले अभिभावकत्व ग्रहण गर्दै बाँकी अध्ययनमा आवश्यक सहयोग गर्ने बताएका हुन्। मनिष हाल स्थानीय जनचेतना आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्।
उम्मेदवार बोहराले आफ्नो चुनावी एजेण्डामा शिक्षालाई प्राथमिकतामा राखेकाले आर्थिक रूपमा कमजोर अवस्थामा रहेका घर्ती परिवारलाई शिक्षा सम्बन्धी विषयमा आश्वस्त पारेको जानकारी दिएका छन्। उनले शिक्षा नै भविष्य निर्माणको आधार भएकाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई साथ दिनु आफ्नो सामाजिक र नैतिक दायित्व भएको उल्लेख गरे।
स्व. घर्तीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उम्मेदवार बोहरासँगै राप्रपाका सहायक महामन्त्री तथा समानुपातिकतर्फका उम्मेदवार नेता ताहिर अलीले पनि शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउँदै साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.