![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न
१४ माघ ,काठमाडौं । माघ ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न बिषयमा १५ बुँदे निर्णय गरेको छ । तीन दिनसम्म चलेको बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु लिएको हो । सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाले निष्कर्ष निकालेको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको उक्त बैठकले देशको विद्यमान परिस्थितिमा आमूल परिवर्तन ल्याउन राजादेखि सबै राजनीतिक पक्ष र शक्तिहरु अटाउने, कसैलाई निषेध नगर्ने नयाँ राजनीतिक व्यवस्थाका लागि नवीन समझदारीको अपरिहार्यतामा पुन जोड दिएको छ । देशको अवस्थालाई दृष्टिगत गर्दै सबै राजनीतिक दल र सम्बद्ध पक्षहरुलाई नवीन समझदारीका लागि अग्रसर हुन र छलफल प्रारम्भ गर्न वैठकले आह्वान गरेको छ ।
त्यस्तै, राप्रपाले आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगबाट प्रस्तुत हुने वैठकको निर्णयमा उल्लेख छ । आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोधसभाका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौं केन्द्रीत कार्यक्रम गर्ने निर्णय भएको छ । काठमाडौं केन्द्रीत कार्यक्रमको स्वरुप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ ।