
‘राज्य आतंक र धरपकड’ गरेर रास्वपा सभापति लामिछानेलाई राति नै पक्राउ
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुले कानून र विधि मान्ने बताइरहेको अवस्थामा पनि राज्य आतंक सृजना गरेर धरपकड गरेको बताएका छन् । शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गर्नु अघि एक भिडियो सन्देश जारी गर्दै आफ्नो गिरफ्तारी प्रक्रियाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले आफूले अदालतको आदेशलाई मान्ने स्पष्ट संकेत गरे पनि प्रहरी बिना कुनै पूर्जी र कागजात आफ्नो घरभित्र छिरेको आरोप लगाएका छन् ।
प्रहरीले रवि लामिछानेको बेडकै अगाडि बसेर पक्राउ पूर्जी लेख्न थालेको थियो। अनौठो हिसाबले प्रहरीले हतार देखायो। नागरिकको घरभित्र छिरेर बल्ल कानूनी कागजात बनाउने विषय त गैरकानूनी भएको रास्वपा नेताले बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले बिना पुर्जी राती गएर लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए । एक प्रहरी अधिकृतले रविलाई तपाईंको ‘अन्तिम ईच्छा’ के छ भनेर समेत सोधेका थिए।
‘मेरो घरभित्र प्रहरी छिरेको छ, बेडरूमसम्म आएको छ। तर, मलाई कुनै कागज दिइएको छैन। यसरी बिना कुनै कारण प्रहरी तैनाथ हुनु, यो सबैचीजले ठूलो आशंका सिर्जना गरेको छ,’ रविले भनेका छन् ।
लामिछानेले आफू न्यायको पक्षमा रहेको र कानुनी प्रक्रिया पूरा गर्न तयार रहेको उल्लेख गर्दै भने, ‘न्यायको लडाइँ म अन्तिम सास रहुञ्जेल लडिरहन्छु। कुनै अपराध नगरेको भए पनि मलाई संसारकै सबैभन्दा ठूलो अपराधी जसरी व्यवहार गरिएको छ।’
लामिछानेले आफूलाई राज्य आतंकको सिकार बनाइएको दाबी गर्दै चितवनका कार्यकर्तालाई शनिबारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। साथै, उनले ‘मतपत्रमा घण्टी चुनाव चिह्न रहनेछ’ भन्दै आफ्नो राजनीतिक संघर्ष जारी रहने संकेत पनि गरे।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएकाे हाे ।
सभापति लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।