

राजेन्द्र महतोको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भयो “राष्ट्रिय मुक्ति पार्टी नेपाल”
८ माघ, काठमाडौं । राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नाममा नयाँ राजनीतिक दलको स्थापना भएको छ। मंगलबार निर्वाचन आयोगले उक्त दल दर्ताको निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा उक्त दलको दल दर्ता नम्बर २०१ कायम भएको छ। पार्टीलाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।
मार्ग निर्देशक सिद्धांत: स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद
मधेसवादी नेताका रूपमा लामो समयदेखि राष्ट्रिय राजनीति मा रहेका राजेन्द्र महतोको अध्यक्षतामा स्थापित राष्ट्रिय मुक्ति पार्टी नेपालको मार्ग निर्देशक सिद्धांतमा स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद रहेको उक्त पार्टीले जनाएको छ। पार्टी दर्ता भएपछि यही सिद्धान्तमा रहेर देशको सर्वाङ्गिण विकासमा लाग्ने उद्देश्य अनुरुप आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियताका साथ लाग्न अध्यक्ष महतोले आह्वान गरे।
आज निर्वाचन आयोगमा दर्ता भएपछि जारी गरिएको उक्त पार्टीको विज्ञप्तिमा भनिएको छ, “स्वदेशवाद, सांस्कृतिक राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तमा आधारित बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निम्ति विधिवत रुपमा निर्वाचन आयोगमा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक पार्टी दल दर्ताको लागि मिति २०८१ कार्तिक ९ गते दिएको निवेदनलाई आज मिति २०८१ माघ ८ गतेमा प्रमाण पत्र प्रदान गरिएको छ । जसको दर्ता नं. २०१ रहेको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिमा लामबद्ध सबै नेता तथा कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरुको अथक परिश्रमले आज आधिकारिक पार्टीको रुपमा मान्यता प्राप्त गरेकोमा सबैमा हार्दिक बधाई एवं शुभकामना ।
राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणा बमोजिम पार्टी आगाडि वढ्ने र देशको राजनीतिक तथा आर्थिक परिवर्तन गर्दै देशलाई वहुलराष्ट्रिय राज्यको रुपमा स्थापना गर्दै सभ्यता एवं संस्कृतिको पुनःस्थापनको महान् लक्ष्य प्राप्त गर्ने यस अभियानमा जुट्न सबैमा हार्दिक अपील गर्दछौ ।”