
राजसंस्था पुनर्स्थापनाको ‘जनआन्दोलन’ लाई सशक्त बनाइने
१४ चैत, काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले चैत १५ गतेदेखि हुने आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताएका हुन् । उनले चैत १५ गते तीनकुनेमा वृहत् प्रदर्शन हुने बताए ।
स्मार्ट पार्टी प्यालेस, चाबहिलमा भएको पत्रकार सम्मेलनमा सुवेदीले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मेवारी व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईलाई दिइएको जानकारी दिए।
त्यस्तै , चैत १६ गते घोडाजात्रा परेकाले चैत १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु गरिने उनले बताए । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।
कार्यक्रममा डा. जगमान गुरुङ, डा. शास्त्र दत्त पन्त, अधिवक्ता स्वागत नेपाल, अनिल वस्नेत, रत्न कमल वैद्य, खेमराज सेढाइ, डा. राम प्रसाद उप्रेती, रमा सिंह, ऋषी वावु परियार, अनन्त धौवडेल, तारानाथ लुइटेल, डा. प्रकाश चन्द्र लोहनी, विक्रम पाण्डे, हरि बहादुर बस्नेत, दिल विकास राजभडारी, नारायण कोइराला , धवल शसेर राणा, जगत गौचन, राजेन्द्र गुरुङ, रविन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतको उपस्थिति थियो ।
यसैबीच दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । उनले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर पूर्वराजालाई भेटेका हुन् ।