

युनाइटेड मोदी हाइड्रोपावरको एघारौं साधारणसभा सम्पन्न; १:०.६५% हकप्रद शेयर जारी गर्ने
२७ चैत, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले एघारौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। । कम्पनीका अध्यक्ष नवीन सिलवालको सभापतित्वमा बुधबार ( २७ चैत ) काठमाडौंमा सम्पन्न भएको साधारणसभाले कम्पनीको दशौं वार्षिक साधारणसभाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाखको १:१ अनुपातमा हकप्रद शेयर जारी तथा निष्कासन गर्ने निर्णयलाई संशोधन गरि १:०.६५ अनुपातमा जारी तथा निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले कम्पनीको संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
समीक्षा आर्थिक वर्षको वासलात, लेखापरिक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदनहरु सभाले पारित गरेको हो।
साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत ८ गते शेयरधनी दर्ता किताब बन्द ( बूक क्लोज ) गरेको थियो। त्यसै अनुरुप चैत ७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिएका हुन।
यस कम्पनीले गण्डकी प्रदेशको पर्वत जिल्ला, कुश्मा नगरपालिकामा अवस्थित १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत आयोजना सम्पन्न गरि २०६९ मंसिरबाट व्यवसायिक उत्पादन सुरु गरेको हो। समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट रु. २८ करोड २६ लाख आम्दानी गरेको जनाएको छ।