
यी हुन् रविका अन्तिम ईच्छा: सांसद हरि ढकाल
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति पक्राउ गर्दै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी दीपक खड्काले विवादास्पद रूपमा उनको ‘अन्तिम इच्छा’ सोधेका थिए।
त्यसको जवाफमा रास्वपाका सांसद हरि ढकालले आफ्ना सभापतिको ‘अन्तिम इच्छा’ सुनाएका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने , ‘जुन शैलीसँग अन्तिम इच्छा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ । यो पार्टीको रणमैदानबाट रवि लामिछानेको अन्तिम इच्छा के छ सुन्न तयार हुनु भन्न चाहन्छु,’ उनले भने ।
लगत्तै उनले सुनाएका छन्, ‘यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने मन छ ।’
शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सभापति लामिछानेलाई राज्यले ५/७ वर्षदेखि नै लखेटिरहेको प जिकिर गरेका छन् । ‘एक जना व्यक्तिलाई राजयले पटकपटक लखेटिरहेको छ । विगत ५/७ वर्षदेखि देखिरहेका छौं । टिभीमा हुँदा कोठाबाटै समातेर ल्याए । चितवनले सशक्त विद्रोह गरिदियो । वर्षौं पहिला नै रविलाई चितवनले न्याय दिलायो,’ उनले भने ।
अहिलेको सरकारले लखेट्न नहुने व्यक्तिलाई लखेटिरहेको उनको भनाइ थियो । ‘यिनीहरूले लखेट्नै नहुनेलाई लखेटिरहेका छैन । यिनहिरूलाई हेक्का छैन । न्यायलयको प्रक्रिया,’ ढकालले भने, ‘न्यायलयको आदेश मान्छु भनेर हार्दिकता देखाउँदा देखाउँदै १० बजे नै पक्राउ गर्नपर्ने । त्यो पनि बेडरुमसम्मै पुगेर दुर्व्यवहार गरियो ।’
उनले चितवनबाटै यसअघि रविले न्याय पाएको उल्लेख गर्दै उनको ‘अन्तिम इच्छा’ के छ भन्ने पनि चितवनबाटै सुनाएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न शुक्रबार राति हात्तिगौंडास्थित उनकै घरमा प्रहरी पुगेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार नै लामिछानेलाई कथित ‘सुप्रिम सहकारी ठगी र संगठित अपराधमा’ थुनामा पठाउने आदेश गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सिआइबी र जिल्ला प्रहरी परिसरको टोली राति ९ बजे रवि लामिछानेको सुत्ने कोठामै गएर पक्राउ गरेका थिए। यस्तो शैलीको पक्राउलाई रास्वपाले ‘राज्य आतंक र धरपकड’ को संज्ञा दिएको छ।