यदि नेतृत्वले आत्मशुद्धि नगर्ने हो भने चुनाव परिणाम जे आए पनि त्यसले देशलाई निकास दिँदैनः लुईटेल
११ पुष,काठमाडौँ । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले जेएनजीले अघि सारेका मागहरू पुरा नगरी र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा नल्याई गरिने कुनै पनि निर्वाचनले जनअपेक्षा अनुसारको सार्थकता नपाउने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।
डा. लुईटेलले वर्तमान राजनीतिक प्रणाली गम्भीर नैतिक संकटमा फसेको उल्लेख गर्दै भन्नुभयो, “जनताको आवाज सडकमा गुन्जिरहेको अवस्थामा त्यसलाई बेवास्ता गरेर गरिने चुनाव केवल औपचारिकता मात्र हुन्छ। भ्रष्टाचारका गम्भीर आरोप लागेका व्यक्तिहरू खुलेआम राजनीतिक प्रक्रियामा संलग्न रहँदा निष्पक्ष र स्वच्छ निर्वाचनको कल्पना गर्न सकिँदैन।”
उहाँका अनुसार जेएनजी आन्दोलनले उठाएका मागहरू कुनै एक समूह वा वर्गका मात्र नभई समग्र लोकतन्त्रको सुदृढीकरणसँग जोडिएका मुद्दा हुन्। ती मागहरू सम्बोधन नगरी निर्वाचन गरिनु भनेको जनताको असन्तोषलाई अझै गहिरो बनाउने र लोकतन्त्रप्रति विश्वास कमजोर पार्ने कार्य हुने उहाँले चेतावनी दिनुभयो।
डा. लुईटेलले राज्य संयन्त्र र राजनीतिक दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न, दोषीलाई जेल हाल्न र जनआन्दोलनका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। “यदि नेतृत्वले आत्मशुद्धि नगर्ने हो भने चुनाव परिणाम जे आए पनि त्यसले देशलाई निकास दिँदैन,” उहाँको भनाइ थियो।
अध्यक्ष लुईटेलले लोकतन्त्रको मर्म जनताको भरोसामा आधारित हुने स्मरण गराउँदै जनभावनाविपरीत गरिने कुनै पनि राजनीतिक प्रक्रिया दीर्घकालीन रूपमा असफल हुने दाबी गर्नुभयो।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

