![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
मुगुम कार्मारोङ गाउँपालिकामा चौँरी गाई पालन व्यवसाय फस्टाउँदै
मुगु ।
हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा लोप हुन थालेको चौँरी गाई पालन व्यवसाय फस्टाउन थालेको छ । कर्णाली प्रदेश सरकारको भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगमा सञ्चालन गरिएको चौँरी गाई पालन फस्टाउँदै गएको हो ।
जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका–५ दाउरा गाउँमा ‘एक निर्वाचन एक पकेट क्षेत्र’ कार्यक्रम अन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हत्र्स प्राइभेट लिमिटेडद्वारा सञ्चालित चौँरी पालन व्यवसाय पछिल्लो समयमा फस्टाउँदै गएको हो ।जिल्लाको एक मात्र सडक सञ्जाल नजोडिएको मुगुम कार्मारोङ गाँउपालिकामा सञ्चालन गरिएको चौँरी पालनबाट स्थानीयको आय–आर्जन, ढुवानी, दूध, उन, मासु, छुर्पी उत्पादनलगायतका उदेश्य लिइएको छ ।
यस चौँरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत आफ्नै लगानीमा ३ वर्ष पहिले २२ वटा चौरीबाट सञ्चालन गरिएको थियो ।अहिले यस फर्ममा ४३ वटा चौँरी रहेका छन् । ५ वटा भने मरेका जानकारी गराइएको छ । चौँरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार ९ महिना हिमालको हावा पानीमा पालिन्छ, भने बाँकी तीन महिना बेसीतिर पाल्ने गरिन्छ । बेँसीमा भने चौँरी गाईलाई औंल रोग लाग्ने गरेको उनले बताए ।
लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको निकै समस्या हुने गरेको उनले बताए । चौँरी पालन फस्टाउँदै गएको कारण पछिल्लो समय दुई जना नियमित स्याहार सुसारमा लाग्ने गरेको उनको भनाइ छ । विशेष गरी ३५ सयदेखि ४५ सय हाराहारीको उचाइमा हुने चौँरी गाई पालन व्यवसाय पछिल्लो समयमा फस्टाउँदै गएको छ ।
source:News of Nepal