
माधब नेपालले फेरि पार्टी एकता गरे, राष्ट्रिय राजनीतिमा तरंग पैदा
काठमाण्डौं, पुष १६ । भर्खरै एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले एकता अभियान भन्दै नामै नसुनेका पार्टीहरुसँगको एकता शुरु गरेको छ । एमालेको एउटा समूहले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गर्यो। पार्टी विभाजन भएको पाँच महिना नपुग्दै फेरी एकीकृत समाजवादीले एकताको अभियान तीव्र पारेको छ । साना साना कम्युनिष्ट घटकहरु एकताको नाममा अहिले नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।
शुक्रवार कम्युनिष्ट घटक राष्ट्रिय जागरण परिषद् नेपाल नामको दलसंग एकता गर्यो । साध्यबहादुर भण्डारीले नेतृत्व गरेको पार्टीसँगको एकता कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उत्साहित हुँदै पार्टी एकताको लहर सुरु भएको घोषणा गरे ।
जिल्ला जिल्लामा विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्ने लहर देखेर आफू उत्साहित भएको र निर्वाचन आयोगमा दर्ता भएका दलहरुले पनि पार्टी एकताका लागि चासो दिइरहेको नेपालको भनाइ छ । पार्टी एकताको अभियानले राष्ट्रिय राजनीतिमा पनि तंरग पैदा गरेको उनको दाबी छ ।
एकीकृत समाजवादीमा समाहित भएको पार्टीका संयोजक भण्डारीले एकीकृत समाजवादी पार्टीको घोषणा पत्र हेर्दा यो पार्टीलाई सच्चा बामपन्थी र देशभक्तहरुको पार्टी बनाउन सकिने देखर पार्टी एकीकरण गरेको बताए ।
पार्टी एकता पक्रियामा समाहित हुँदा क्रान्तिकारी भाषण गर्ने कम्युनिष्टहरु विभाजन हुँदा भने एक अर्का प्रति व्यत्तिगत गाली गलौजमै उत्रने गरेका छन् । शुक्रवार पार्टी एकता गरेका राष्ट्रिय जागरण परिषद् नेपालका संयोजक भण्डारी पनि यसअघि राष्ट्रिय जनमोर्चा नेपालमा रहेर सक्रिय राजनीति गर्दै आएका थिए ।
उक्त दल परित्याग गरी भण्डारीले छुट्टै अभियान शुरु गरे र पछि नेकपामै पार्टी विलय गराए । नेकपामा रहँदा आफ्नो स्वार्थ सिद्ध नहुने भएपछि पुनः उनले राष्ट्रिय जागरण परिषद्लाई सक्रिय बनाए । यो अभियानबाट पनि पार लाग्ने नदेखेपछि भण्डारीले आफूसहित केही नेताहरुलाई साथमा लिएर नेकपा एकीकृतमा समाहित हुन पुगे ।