

बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी
२८ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्चाचित भएका छन् । यही चैत २३ गते भएको बारको निर्वाचनको आज मतगणना सम्पन्न हुँदा नयाँ नेतृत्वमा कांग्रेस-एमाले समर्थित विजयप्रसाद मिश्रको प्यानल नै निर्वाचित भएको छ ।
अध्यक्षमा विजयप्रसाद मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट प्रतिस्पर्धा गरेका माओवादीनिकट कानून व्यवसायी समूहका रमण श्रेष्ठ २६२१ मतमा रोकिए । दुईजनाबीचको मतान्तर २४३१ छ ।
त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।
शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।