
प्रधानमन्त्री देउवा र ओलीको भेटवार्ता पछि राजनीति तरंगित, देउवालाई ओलीले दिए यस्तो जवाफ
फाइल तस्बिर
काठमाडौँ ६ फाल्गुण । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहिबार साँझ भेटवार्ता भएपछि राजनीति तरंगित भएको छ ।
प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न पत्नी आरजु राणासहित भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरीकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए ।
विहिबार नै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि आज १० बजे पुनःबैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग एमसीसी पारित गर्ने विषयमा स्पष्टता खोजेको बुझिएको छ । गठबन्धनका दलहरुले एमसीसी पारित गर्न साथ नदिने भएपछि देउवाले ओली नेतृत्वको सरकारले नै संसदमा दर्ता गरेको एमसीसीलाई पार्टी गर्न एमालेले सहयोग गरोस् भन्ने चाहेका छन् । तर एमालेले भने यसलाई राजनीतिक रुपमा आफुलाई फाइदा हुने भए मात्र साथ दिने स्पष्ट गरेको छ ।
सैद्धान्तिक रुपमा एमाले एमसीसीको विरोधमा छैन । तर अध्यक्ष ओलेले देउवासँग स्पष्ट रुपमा गठबन्धन तोडिए र सभामुखलाई हटाउन तयार भए संसद पनि चल्ने र एमसीसी पनि पारित हुने संदेश दिएको बुझिएको छ । प्रधानमन्त्री देउवा बाहेक काँग्रेसका अन्य नेताहरुसंगको छलफलमा पनि ओलीले स्पष्ट रुपमा दुई शर्त अगाडी सारेको बताइएको छ ।
तर प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर अगाडी बढ्ने निर्णय भने अझै नलिएको उनी निकट काँग्रेस नेताले खरीबोटलाई बताएका छन् । ओलीसँगको भेट पनि उनले गठबन्धनको बैठकमै जानकारी गराएर गरेको ति काँग्रेस नेताले बताए ।
हाल देउवा प्रचण्डप्रति आक्रोशित भएपनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति सकारात्मक नै रहेको बुझिएको छ । ति नेताले नेपाल एमसीसीको विषयमा गठबन्धनको बैठकमा पनि नकारात्मक रुपमा प्रस्तुत नभएको र प्रधानमन्त्री देउवासँग दुई दिन पछि हुने आफ्नो पार्टीको बैठकसम्म पर्खिन आग्रह गरेको बताए । एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक शनिबार बस्दै छ । यस अवस्थामा आजको बैठकमा एमसीसी संसदमा टेबल हुने सम्भावना कम देखिएको छ । खरीबोटबाट साभार