
प्रधानमन्त्री देउवानिकट नेता लेखक अमेरिका जाँदै
काठमाडौ, २१ माघ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता रमेश लेखक अमेरिका जाने भएका छन् ।
प्रधानमन्त्री देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरतमा रहेका बेला नेता लेखक अमेरिका जान लागेका छन् । उनी शुक्रबार राति आठ बजे अमेरिका प्रस्थान गर्ने बताइएको छ। प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनका स्वकीय सचिव जनक भट्टले लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेको बताएका छन् ।
लेखकका पत्नी र छोरीका साथमा अमेरिका जान लागेका भट्टले जानकारी दिए । ‘दाइको अमेरिका जानु र एमसीसी पासको प्रयास हुनुमा कुनै सम्बन्ध छैन। उहाँ पारिवारिक भेटघाटका लागि जान लाग्नुभएको हो’, भट्टले भने, ‘दुई महिनाअघिबाटै अमेरिका जाने तयारी हो। छोरी, भाउजू र उहाँ जान लाग्नुभएको हो ।’ लेखक अमेरिकामा झन्डै एक महिना बस्ने बताइएको छ ।