प्रजातान्त्रिक पार्टी, नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दल दर्ता
१४ मंसिर,काठमाडौँ । प्रजातान्त्रिक पार्टी, नेपालले प्रतिनिधि सभा सदस्य २०८२ को निर्वाचनमा सहभागी हुने उद्देश्यसहित निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ । आगामी निर्वाचनमा वैकल्पिक शक्ति बन्ने दाबी गर्दै पार्टीका शीर्ष नेतृत्व शुक्रबार बिहान आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरिएको हो ।
दल दर्ताका लागि पार्टी अध्यक्ष तारानाथ लुइटेल, वरिष्ठ नेता अम्वर केसी, केन्द्रीय सदस्य उद्धव मिश्र सहितको प्रतिनिधिमण्डल आयोग पुगेको थियो । दर्ता प्रक्रियाको क्रममा आयोगका पदाधिकारीसँग पार्टीको नीति, कार्यक्रम र दीर्घकालीन राजनीतिक मार्गचित्रबारे विस्तृत छलफल गरिएको बताइएको छ ।
पार्टी अध्यक्ष लुइटेलले दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रजातान्त्रिक मूल्य–मान्यतामा आधारित सुशासन, पारदर्शिता र उत्तरदायित्वमुखी राजनीतिक संस्कृतिको विकास नै पार्टीको मुख्य लक्ष्य भएको बताए । उनले वर्तमान राजनीतिक दलहरूबाट निराश जनताले अब वैकल्पिक, सक्षम र जनमुखी नेतृत्वको खोजी गरिरहेको बताउँदै आगामी निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता हात पार्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष लुइटेलले आगामी दिनमा संगठन विस्तारलाई व्यापक रूपमा अघि बढाइने र जनताबीच पार्टीका एजेण्डाहरूलाई अझ सशक्त रुपमा प्रस्तुत गरिने बताए । उनका अनुसार पार्टीले युवामुखी आर्थिक रूपान्तरण, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यको सर्वसुलभ पहुँच तथा स्थानीयस्तरमा सेवा वितरण सुधार जस्ता मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउनेछ ।
दल दर्तासँगै प्रजातान्त्रिक पार्टी, नेपाल अब निर्वाचन आयोगको विधिअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा आधिकारिक रूपमा प्रतिस्पर्धा गर्न योग्य बनेको छ । पार्टीले अब छिट्टै चुनाव चिह्न, उम्मेदवार छनोट प्रक्रिया र घोषणापत्र तयारीलाई टुंग्याउँदै संरचना विस्तारमा केन्द्रित हुने बताइएको छ ।
नेताहरूले जनताबाट पाएको उत्साहले आफूहरू हौसिएका बताउँदै अबको यात्रा जनताको मुद्दा बोकेर सकारात्मक र सक्षम राजनीतिक विकल्प निर्माण गर्ने दिशामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
