प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबीच औपचारिक समझदारी
२९ पुष,काठमाडौं । नेपाली विद्यालय शिक्षामा पठन संस्कारलाई संस्थागत गर्दै गुणस्तरीय शिक्षाको आधार मजबुत बनाउने उद्देश्यका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (OUP) इन्डियाबीच औपचारिक समझदारी भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको यो सहकार्यलाई दीर्घकालीन शैक्षिक सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
३५ वर्षदेखि गुणस्तरीय शिक्षाको अभियानमा सक्रिय प्याब्सन र विश्वस्तरीय शैक्षिक प्रकाशक OUP इन्डियाबीचको सहकार्यले देशभरका विद्यालयहरूमा योजनाबद्ध पठन कार्यक्रम, आधुनिक शिक्षण अभ्यास र शिक्षक तथा विद्यालय नेतृत्व विकासलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । करिब ९ हजार निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको प्याब्सनले विद्यार्थीहरूमा समालोचनात्मक सोच, सिर्जनशीलता र आजीवन सिकाइ क्षमताको विकासका लागि पठन संस्कृतिलाई केन्द्रमा राख्ने नीति लिएको जनाएको छ ।
कार्यक्रमका वक्ताहरूले विश्वव्यापी रूपमा विद्यार्थीहरूको पठन बानी कमजोर बन्दै गएको सन्दर्भ उल्लेख गर्दै परीक्षा–केन्द्रित शिक्षण प्रणालीभन्दा माथि उठेर सिकाइको वास्तविक उद्देश्यमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । सही पुस्तकको छनोट, अनुकूल सिकाइ वातावरण र योजनाबद्ध अभ्यासबाट मात्र सक्रिय पाठक निर्माण सम्भव हुने उनीहरूको धारणा थियो ।
अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले विद्यालय तहमा पठन संस्कृतिको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै प्याब्सनसँगको सहकार्यलाई नेपालका लागि विशेष महत्वको रूपमा लिएको जनाएको छ । प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पठन संस्कार बिना गुणस्तरीय शिक्षा सम्भव नहुने स्पष्ट पार्दै यो समझदारी नेपाली विद्यालय शिक्षाको इतिहासमा उल्लेखनीय उपलब्धि भएको बताए ।

समझदारीअनुसार OUP ले विश्वभर प्रयोगमा रहेका ‘Read with Oxford’ श्रृंखला अन्तर्गतका ५० पुस्तक समावेश गरिएको विशेष प्याक प्याब्सन सदस्य विद्यालयहरूलाई सहुलियतपूर्ण दरमा उपलब्ध गराउनेछ । यससँगै ती स्रोत प्रयोग गर्ने विद्यालयका शिक्षकहरूका लागि OUP को व्यावसायिक विकास टोलीमार्फत विशेष अनलाइन तालिम सञ्चालन गरिनेछ ।
यसैगरी, प्याब्सनले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलन, प्रादेशिक नेतृत्व शिविर तथा अन्य नेतृत्व विकास कार्यक्रमहरूमा OUP बाट अन्तर्राष्ट्रिय प्रशिक्षक र मुख्य वक्ता सहभागी गराउने सहमति भएको छ । विद्यालय नेतृत्व क्षमताको अभिवृद्धि र विश्वस्तरीय अभ्यासको प्रयोगमा यसले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
समझदारी अन्तर्गत प्याब्सन केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापना गरिनेछ, जहाँ नमुना पुस्तक, शैक्षिक सामग्री र व्यवहारिक सिकाइ स्रोतहरू उपलब्ध हुनेछन् । साथै, विद्यालय समयमै पठनका लागि छुट्टै समय निर्धारण गरी पठन संस्कारलाई विद्यालय जीवनको अभिन्न अंग बनाउने प्रयास गरिनेछ ।
कार्यक्रममा OUP इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासले नेपालमा शिक्षा क्षेत्रको विकासमा OUP को निरन्तर योगदान रहने उल्लेख गर्दै यो सहकार्यले नेपाली शिक्षा प्रणालीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । प्याब्सन र OUP दुबैले यस सहकार्यलाई नवप्रवर्तनशील पाठक निर्माण, सक्षम शिक्षक र दूरदर्शी विद्यालय नेतृत्व विकासको आधार बनाउने प्रतिबद्धता जनाएका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
