
पर्यटन मन्त्री आलेको अन्तरबार्ता भयो भाइरल
काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्रको १४ रोपनी जग्गा कौडीका भाउमा बतास समूहलाई दिएको नैतिक जिम्मेवारी पूर्वमन्त्री योगेश भट्टराईले लिनुपर्ने बताएका छन् ।
हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारित जनता जान्न चाहन्छन् कार्यक्रमका पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री आलेले भने, “हाम्रो जस्तो देशमा मन्त्रीको निर्देशनबिना तलको कर्मचारीले यस्तो काम गर्न सक्दैन । योगेश भट्टराईको मौखिक आदेशमा बतास समूहले नारायणहिटी संग्रहालयभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइँयाको भाउमा पाएको हो । यसका मतियार कोही पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन् । त्यसमा र्याल चुहाउने मान्छे पनि होलान् । कोभिडको मौका छोपेर टेन्डन निकाल्नु, एउटै समूहका तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ? ”
पर्यटनमन्त्री आलेले संग्रहालयभित्र बार चलाउने बद्नियतका साथ बनाइएका संरचना भत्काएकामा योगेश भट्टराई तात्तिनुको कारण के हो भनी प्रतिप्रश्न गरे । उनले भने, “नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्री योगेशकै मौखिक आदेशमा दिएको बताइसक्नुभएको छ । बतास समूहलाई क्याफटेरिया चलाउन २ लाख ३५ हजार भाडामा ६ आनामा बनेको घर दिएको हो । त्यसमै १४ रोपनी जमिन पनि दिन मिल्छ रु औंला दिँदा हातै निल्ने रु बार चलाउने बद्नियतका साथ बनेका थुप्रै टहरा हटाउँदा उहाँ किन तात्तिनुभयो रु कि बताससित मेरो अनसिन पार्टनरसिप थियो मलाई घाटा भयो भन्नुपर्यो ।”
आफू कसैविरुद्ध पूर्वाग्रही नभएको पनि उनले दाबी गरे । मन्त्री आलेले भने, “म कसैसित पूर्वाग्रही छैन । माधवकुमार नेपालले मलाई विश्वास गरेर जिम्ेमवारी दिनुभएको छ, म जति दिन, घन्टा, मिनेट र सेकेन्ड पदमा रहन्छु, इमानदारीपूर्वक त्यो जिम्मेवारी पूरा गर्छु ।”
लन्डनबाट फर्कंदा तपाईंले ७ रोलेक्स घडी, १० बोतल रक्सी र आइफोन लिएर आएको पूर्वमन्त्री योगेश भट्टराईको आरोपको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म जुन भीआईपी कक्षबाट आएको छु, त्यसको सीसीटीभी फुटेज हेरे हुन्छ । मेरो हातमा केही पनि छैन । एउटा रोलेक्स घडी या एक बोतल रक्सी देखाउन सक्नुभयो भने अहिलेको अहिले नै मन्त्री पदबाट राजीनामा दिन्छु । सबैलाई थाहा छ, म रक्सी खान्नँ, वाइन पनि खान्नँ । यो सब योगेश भट्टराईका मतियार धनञ्जय रेग्मी, डीमप्रसाद पौडेलसँग मिलेर गरेको सुनियोजित कुप्रचार हो । यो मलाई बदनाम गराउने षडयन्त्र हो । कुनै प्रमाण छ भने पुष्टि गरेर देखाउनुस् ।”
आफू मन्त्री भएको सय दिनमा जहाजलाई घाममा सुकाउन नदिएको, अनलाइनको माध्यमबाट इन्टरनेसनल फ्लाइटको टिकट काट्ने व्यवस्था मिलाएको, उडान तालिका नियमित बनाएको, कफी सप र ट्याक्सीको समस्या समाधान गरेको, सटल बसको सुरुवात गरेको, पीसीआर टेस्टलाई २ हजारबाट १२ सयमा झारेको आदि फेहरिस्त पनि सुनाए । रिपोर्टस नेपालबाट