
पत्रकारसँगको अन्तरसंवादमा महासचिव पोखरेलले बताए यस्तो कुरा
काठमाडौं १४ भाद्र । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताका मूच्र्छित सपनालाई ब्युँझाउन र पूर्वाधार विकासको थालनीलाई निरन्तरता दिन आगामी निर्वाचनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको बताएका छन ।
एमालेको केन्द्रीय प्रचार विभागले सोमबार आयोजना गरेको पत्रकारसँगको अन्तरसंवादमा महासचिव पोखरेलले विगतमा ओली प्रधानमन्त्री हुँदा जनतामा आशा जगाउने गरी समृद्धिका लागि काम गरेको बताए ।
एमालेको यही भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जाने निर्णय गरेको थियो ।
महासचिव पोखरेलले एमालेका हरेक पार्टी सदस्यले दुई–दुई मत पार्टीका लागि बढाउने अभियान सञ्चालन गर्ने योजना पनि सुनाए । सोही कार्यक्रममा उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रूपमा एमालेले उहाँलाई उभ्याएको बताए । उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताए ।
उनले ओली एमालेको सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले पनि ओलीलाई जनतामाझ खडा गरेको बताए । कार्यक्रममा उहाँले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको दाबी गरे ।