
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न
२८ चैत्र, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन भोली २९ चैतमा हुदै छ । त्यसका लागि हिजो दुवै प्यानलले अन्तिम चुनावी सभामार्फत आ–आफ्नो पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई अपिल गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुने छ । त्यसमा २ प्यानल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार सार्वजनिक भएका छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा संयुक्त व्यवसायी समूह बनेको छ । उक्त प्यानलको नेतृत्व संघका पूर्वमहासचिव नरेश गेलालले गर्नु भएको छ ।
त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ हुनुन्छ ।
बुधबार गुरुङ प्यानलले यती इभेन्ट्समा र गेलाल प्यानलले बसुन्धरा पार्टी प्यालेसमा अन्तिम चुनावी सभा गरेका थिए । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका थिए ।
प्यानलबाहिर रहेर सचिवमा उम्मेदवारी दिएका व्यवसायी ईश्वर सापकोटा र प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अख्तर हुसेनले पनि व्यवसायीको हितमा काम गर्ने भन्दै मत मागिरहेका थिए ।