नेपाली जनता दलको चुनावी घोषणा पत्र सार्वजनिक
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली जनता दलले आफ्नो संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचार र बेरोजगारी अन्त्यलाई केन्द्रीय एजेण्डा बनाएको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा पार्टीका कार्यकारी अध्यक्ष नवराज सुवेदी ले हालैका राजनीतिक आन्दोलनहरू, विशेषतः जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले सात दशक लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै मुलुकलाई शान्ति, सुशासन र समृद्धिको मार्गमा अघि बढाउन अब केवल सत्ता परिवर्तन पर्याप्त नहुने उल्लेख गरे । “देशलाई वैचारिक स्पष्टता र नैतिक नेतृत्व चाहिएको छ,” उनले भने, “राजनीतिलाई व्यक्तिकेन्द्रित प्रतिस्पर्धाबाट नीति–केन्द्रित बहसतर्फ लैजानु आवश्यक छ ।”
पार्टीका अनुसार विसं २०५१ सालमा स्थापना भएको नेपाली जनता दल र २०८२ सालमा स्थापना भएको जनयुग पार्टीबीच गत मंसिर ६ गते एकता भएपछि संयुक्त रूपमा नेपाली जनता दल पुनर्गठित भएको हो । उक्त एकतालाई पार्टीले परम्परागत राजनीतिमा वैचारिक बदलाव र सामाजिक–सांस्कृतिक क्षेत्रमा नवचेतना ल्याउने ऐतिहासिक कदमका रूपमा व्याख्या गरेको छ । नेतृत्वका अनुसार, पुराना अनुभव र नयाँ ऊर्जा एकीकृत गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यसहित एकता गरिएको हो ।
घोषणा पत्रमा पार्टीले प्रकृतिवाद, वैज्ञानिक मानवतावाद र मौलिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । पार्टीको दाबी छ कि आर्थिक विकास केवल संख्यात्मक वृद्धिमा सीमित हुनुहुँदैन, बरु त्यसले सामाजिक न्याय, समान अवसर र उत्पादनमुखी संरचना निर्माण गर्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्र, उद्यमशीलताको प्रवर्द्धन, साना तथा मध्यम उद्योगको संरक्षण र कृषि आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ ।
नागरिक स्वतन्त्रता, समानता र सामाजिक न्यायलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा प्रस्तुत गर्दै पार्टीले राज्यका सबै अंगमा पारदर्शिता र जवाफदेहिताको प्रणाली सुदृढ बनाइने जनाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था, स्वतन्त्र छानबिन संयन्त्र र सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूको नियमित सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव अघि सारिएको छ ।

मानव मात्र होइन, प्राणी जगत र वातावरण संरक्षणलाई पनि पार्टीले विकासको अभिन्न पक्ष मानेको छ । जल, जंगल, जमिनको संरक्षण गर्दै दिगो विकासको मोडल अपनाउने र नेपाली सभ्यता, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राखिने घोषणा पत्रमा उल्लेख छ ।
जेनजी आन्दोलनपछि देशमा नेतृत्व पुस्तान्तरणको बहस चुलिएको सन्दर्भमा पार्टीले ‘नयाँ’ को अर्थ केवल उमेरसँग नजोडी विचार, दृष्टिकोण र आचरणमा समेत परिवर्तन हुनुपर्ने धारणा राखेको छ । “नयाँ अनुहार मात्र होइन, नयाँ सोच र नयाँ संस्कार आवश्यक छ,” अध्यक्ष सुवेदीले भने, “पुरानै प्रवृत्तिलाई निरन्तरता दिने हो भने पुस्तान्तरणको बहस अर्थहीन हुन्छ ।”
हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार क्रियाशील रहेको उल्लेख गर्दै पार्टीले निष्पक्ष छानबिन र स्वच्छ निर्वाचनमार्फत जनविश्वास पुनर्स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएको छ । निर्वाचन प्रक्रियामा पारदर्शिता, प्रशासनिक तटस्थता र सुरक्षा व्यवस्थामा सुधार अपरिहार्य रहेको पार्टीको धारणा छ । साथै नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा देखिएका त्रुटिहरू सच्याउन आवश्यक संशोधन गरिनुपर्ने पार्टीको माग छ । संघीयता, समावेशिता र अधिकार बाँडफाँटसँग सम्बन्धित अस्पष्ट प्रावधानहरूलाई स्पष्ट बनाउँदै संविधानलाई व्यवहारिक र जनमुखी बनाउनुपर्ने जोड दिइएको छ ।
निर्वाचन तयारीबारे जानकारी दिँदै पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४७ जना उम्मेदवार उठाएको जनाएको छ । प्रत्यक्षतर्फ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरिएको छ । पार्टीका महासचिव ठाकुर पोखरेल ले प्रेस विज्ञप्ति पढेर सुनाउँदै संगठन विस्तार, मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्रता दिइएको बताए । उनका अनुसार पार्टीले युवापुस्तालाई केन्द्रमा राखेर डिजिटल माध्यममार्फत प्रचार अभियान सञ्चालन गरिरहेको छ ।
कार्यकारी अध्यक्ष सुवेदीले घोषणा पत्रबारे मन्तव्य राख्दै वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिको आवश्यकता औंल्याए । उनले देशमा बढ्दो बेरोजगारी, वैदेशिक पलायन र उत्पादन क्षेत्रमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक स्थायित्व र नीतिगत निरन्तरता बिना समृद्धि सम्भव नहुने बताए । “हामी केवल चुनाव जित्न होइन, राजनीतिक संस्कार परिवर्तन गर्न मैदानमा उत्रिएका हौँ,” उनले भने ।
समग्रमा, राष्ट्रिय स्वाभिमान, सुशासन, आर्थिक आत्मनिर्भरता र वैचारिक पुनर्जागरणको नारासहित नेपाली जनता दलले चुनावी प्रतिस्पर्धामा आफूलाई वैकल्पिक शक्ति रूपमा प्रस्तुत गरेको छ । अब मतदाताले यस घोषणापत्रलाई कत्तिको विश्वास गर्ने र निर्वाचन परिणाममा कस्तो प्रभाव पार्ने भन्ने प्रश्न आगामी निर्वाचनले नै तय गर्नेछ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
