नयाँ पुस्ताको प्रतिनिधित्व गरेर पार्टी अगाडि बढ्छः महामन्त्री घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर पार्टी अगाडि बढ्ने बताएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि महामन्त्री घिमिरेले यस्तो बताएका हुन । उनले अब कांग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए ।
उनले भने, ‘हामीले कांग्रेसमा अहिले नेता मात्रै होइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौँ ।’
विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ठ भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको बताए।
उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको र यसले निर्वाचनमा पनि प्रभाव पार्ने बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ भने यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ। कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ। यसले धेरै ठुला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन्।’
महामन्त्री घिमिरेले जेन्जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठुलो कुर्बानी गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।
उनले जेन्जीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापूर्वक पार्टीले लिएको बताए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.