दैलेखमा तेल र ग्यास परियोजना सुरु हुनु ओली सरकारकै देन : महासचिव भरत नेपाल
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले दैलेखमा तेल र ग्यास अन्वेषण तथा उत्खनन परियोजना अघि बढ्नु केपी शर्मा ओली नेतृत्वको सरकारको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विशेषगरी युवा पुस्ता (जेन–जि) सहित सम्पूर्ण नेपालीले यस तथ्यलाई हेक्का राख्न आवश्यक रहेको उल्लेख गरेका छन्।
महासचिव नेपालका अनुसार वर्षौँदेखि सम्भावनाको रूपमा मात्र चर्चा हुँदै आएको दैलेखको पेट्रोलियम स्रोत ओली सरकारको कार्यकालमै ठोस योजनासहित अगाडि बढाइएको हो। “राजनीति जति आलोचनाको विषय बन्छ, त्यति नै तथ्यलाई पनि नजरअन्दाज गरिन्छ,” उनले लेखेका छन्, “तर दैलेखको तेल र ग्यास परियोजना कुनै कल्पना होइन, यो तत्कालीन ओली सरकारको नीतिगत निर्णय, कूटनीतिक पहल र प्रशासनिक दृढताकै परिणाम हो।”
उनले यस परियोजनालाई नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा ठूलो फड्कोको रूपमा चित्रण गरेका छन्। स्वदेशमै तेल र ग्यास उत्पादन सम्भव भए आयातमा निर्भर अर्थतन्त्रलाई राहत पुग्ने, व्यापार घाटा घट्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको तर्क छ।
महासचिव नेपालले पछिल्लो समय सामाजिक सञ्जालमा देखिने “सबै काम आफैँ भयो” भन्ने भाष्यप्रति पनि कटाक्ष गरेका छन्। उनले लेखेका छन्, “देशमा जे–जति ठूला परियोजना अगाडि बढ्छन्, ती कुनै न कुनै सरकारको निर्णय र साहसको परिणाम हुन्छन्। दैलेखको परियोजनालाई पनि त्यसैगरी हेर्नुपर्छ।”
उनको भनाइमा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर तथ्यलाई मूल्याङ्कन गर्ने हो भने दैलेख परियोजना ओली सरकारको उल्लेखनीय उपलब्धिका रूपमा इतिहासमा दर्ज हुने निश्चित छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.