देशलाई बलियो नेतृत्व चाहिएको छ, एमाले नै भरपर्दो शक्ति होः ढकाल
काठमाडौं । पेशागत महासंघ नेपालका अध्यक्ष पून्य प्रसाद ढकालले राष्ट्र, राष्ट्रियता र स्वाधीनता बलियो बनाउने उद्देश्यका साथ नेकपा एमाले देशको निर्णायक शक्ति बन्न चाहेको बताएका छन्। उनले आसन्न निर्वाचनलाई राष्ट्रको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा लिन आम मतदातालाई आग्रह गरेका छन्।
ढकालले फागुन २१ गते हुने निर्वाचनलाई केवल औपचारिक प्रक्रिया नभई देशको दिशा तय गर्ने दिनका रूपमा बुझ्नुपर्ने बताए। “राष्ट्र कमजोर बनाउने, राष्ट्रियता गिजोल्ने र स्वाधीनतामाथि आँच पुर्याउने प्रवृत्तिहरू सक्रिय भइरहेका बेला एमाले नै राष्ट्रको मेरुदण्ड बन्न सक्छ,” उनले भने।
उनले मतदातालाई धेरै थरी रंगी–बिरंगी दलहरूका भ्रम, आकर्षक तर खोक्रा भाषण र शब्दजालमा नपर्न आग्रह गर्दै आफ्नो अमूल्य मत सोचविचार गरेर प्रयोग गर्न अपिल गरे। “मत केवल कागजमा हालिने चिह्न होइन, यो देशको भविष्य लेखिने कलम हो,” ढकालको भनाइ थियो।
ढकालले स्थायित्व, विकास र राष्ट्रिय हितका मुद्दामा एमालेको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। उनका अनुसार बलियो नेतृत्व, स्पष्ट नीति र राष्ट्रप्रति उत्तरदायी शक्ति आवश्यक भएको वर्तमान अवस्थामा एमाले नै भरोसायोग्य विकल्प हो।
उनले योग्य, इमानदार र राष्ट्रप्रति प्रतिबद्ध उम्मेदवारलाई जिताउनु नै सच्चा देशभक्ति भएको उल्लेख गर्दै मतदातालाई भावनामा होइन, विवेकमा आधारित निर्णय लिन आग्रह गरे। “आजको एक मतले भोलिको पुस्ताको भविष्य निर्धारण गर्छ,” उनले जोड दिए। अध्यक्ष ढकालले सम्पूर्ण मतदातालाई देशको भविष्य सम्झेर, राष्ट्रिय स्वाभिमान जोगाउने पक्षमा उभिएर सूर्यमा मतदान गर्न आह्वान गरे।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
