
देशभक्तहरूको पार्टी एमालेले मुख खोल्योः गोकुल बास्कोटा
चितवन २९ पुस । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप लगाए ।
मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए । संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उनले बताए ।
भारतीय अधिकारीहरूले हाम्रो नक्सामा भएको, संसदबाट सर्वसम्मतिले पास भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू । लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस् । म मन्त्रीहरू खोज्दै छु । देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु । खै कहाँ गए । त्यस विषयमा बोल्नुपर्दैन । एमाले बोल्यो’, उनले भने ।
प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उनले अब जनताले बनाउँदा एमालेको सरकार बनाउने दाबी गरे । फरक प्रसंगमा बोल्दै बास्कोटाले सर्वोच्च अदालत सधैँ एमालेप्रति पूर्वाग्रही हुने गरेको आरोप लगाए ।