दण्ड कि पुरस्कार ? चुनावबाटै निर्णय गरौंः बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरे
काठमाडौं । बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले भदौ २३ र २४ गतेको घटनालाई लिएर जनतासामु स्पष्ट राजनीतिक प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहान पोस्ट गर्दै घिमिरेले यस्तो प्रश्न उठाएका हुन । उनले ती दुई दिन नेपाल भन्ने देश नै ‘कोल्याप्स’ भएको थियो कि थिएन भन्ने निष्कर्षमा पुग्न मतदातालाई आग्रह गरेका छन् ।
घिमिरेका अनुसार यदि भदौ २३ र २४ गते देशको शासन प्रणाली, राज्य संयन्त्र र नेतृत्व असफल भई मुलुक नै कोल्याप्सको अवस्थामा पुगेको थियो भन्ने ठहर हो भने, त्यसका लागि जिम्मेवार साविकका सत्ताधारीलाई दण्डित गर्ने अवसरको रूपमा यो निर्वाचनलाई प्रयोग गर्नुपर्छ । उनका शब्दमा चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन, जनताले विगतको मूल्यांकन गर्ने लोकतान्त्रिक अदालत पनि हो ।
तर अर्कोतर्फ, यदि त्यो समयमा देश कोल्याप्स भएको थिएन, तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले परिस्थितिलाई सही ढंगले व्यवस्थापन गरेका थिए भन्ने विश्वास छ भने उनीहरूलाई पुरस्कृत गर्न पनि यही चुनाव पर्याप्त माध्यम भएको घिमिरेले उल्लेख गरेका छन् । उनका अनुसार त्यस अवस्थामा मतदाताले छानीछानी तत्कालीन नेतृत्वलाई फेरि सत्ता सुम्पिनु नै तर्कसंगत हुनेछ ।
घिमिरेले लामो भाषण, भावनात्मक नाराबाजी र लम्बे–चौडे गफको आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन् । उनका अनुसार भदौ २३ र २४ को घटनाले राज्य र नेतृत्वको वास्तविक क्षमता नाङ्गो बनाइसकेको छ, अब निर्णय गर्ने पालो मतदाताको हो । “दण्ड कि पुरस्कार, फैसला सरल छ,” उनको सन्देशमा भनिएको छ, “मतपेटिकामै उत्तर दिनुहोस्।”
भदौ २३ र २४ को घटनाबारे फरक–फरक व्याख्या भइरहेका बेला घिमिरेको यो धारणा मतदातालाई भावनाभन्दा मूल्यांकनमा आधारित निर्णय लिन प्रेरित गर्ने संकेतका रूपमा हेरिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.