
तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग
काठमाडौं, ८ माघ । नेकपा एमालेका नेता राम प्रसाद रिजालले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । उनले स्थानीय तहको निर्वाचन पछाडी धकेलेर प्रतिनिधि सभाको निर्बाचन गर्ने जुन कुरा बाहिर आएको छ त्यो ठिक नहुने बताए ।
उनले स्थानीय तहको निर्वाचन बैशाखमा नै गर्नुपर्नेमा जोड दिए । निर्वाचित जनप्रतिनिधिहरुविहीन स्थानीय तह बनाउन नहुने रिजालले बताए ।
उनले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल संविधानमा नै ५ वर्षको तोकिएकोले समयमै स्थानीय तहको निर्वाचन हुनु पर्ने कुरामा जोड दिए । उनले एकै पटक तिनै तहका निर्वाचन सम्पन्न गर्न कानूनले नदिने बताए । उनले लोकतन्त्रलाई राम्रो र बलियो बनाउनको लागि निर्वाचन नै उत्कृष्ट बिधि भएको बताए ।
उनले भने–‘अहिले स्थानीय तहको निर्वाचनको बेला भएको छ । यो ठीक बेला छ । कानून र संविधानले पनि यही व्यवस्था गरेको छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’उनले पालिकाको चुनाव निर्धारित मितिमा नै हुनुपर्ने बताए । पालिकाको चुनाव संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा उनले जोड दिए ।