
जसपा नेता यादव एमालेमा प्रवेश
बाँके ३१ साउन । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित एक सांसद नेकपा एमाले प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित विजयबहादुर यादव एमाले प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका उनलाई पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले कारबाही गरेको थियो ।
एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका उनलाई पार्टीले कारबाही गरेपछि उनको प्रदेशसभा सदस्य पद खोसिएको थियो ।
मंगलबार बाँकेमा आयोजित एक कार्यक्रममा यादवलाई एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमाले प्रवेश गराएका हुन् ।