
जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भएः प्रचण्ड
काठमाडौं २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वले मधेसमा ठूलो विद्रोह गरेको स्मरण गरेका छन् । मधेस प्रदेशमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धका बेला मधेसमा मात्रै १३ सय शहीद भएको बताए ।
‘तराई मधेसमा निकै ठूलो विद्रोह जनयुद्धले लिएर आयो । झण्डै १३ सय शहीद मधेसमा मात्रै भएका छन् । १० वर्षको जनयुद्धमा,’ उनले भने, ‘ती १३ सय सहिद र सयौँ बेपत्तालाई सम्मान र तीनका परिवारलाई पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।’ त्यहीँ संघर्ष र बलिदानको भरमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको अध्यक्ष प्रचण्डले दाबी गरे ।
उनले भने, ‘हाम्रै संघर्ष र बलिदानले देश संघीय गणतन्त्रमा छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा आएकै छ ।’ अहिले देशभर निर्माण भइरहेका भौतिक संरचना र विकासहरू त्यही संघर्षको उपज रहेको पनि टिप्पणी गरे ।