
चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउँछः माधव नेपाल
१७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताउनु भएको छ ।
तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको हो ।
अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नु भयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नु भयो ।